काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ ।
उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगुबाट मृत्यु भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाका एक उच्च अधिकारीले बताए ।
महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् ।