काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उनले लेखेकी छिन्, ‘नेपाल र भारतबिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु ।’
प्रधानमन्त्री देउवाले उनलाई बधाई दिँदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुर्मूलाई बधाई दिएकी छिन् । भारतको सत्तारुढ गठबन्धनबाट राष्ट्रपति चुनिएकी मुर्मूले विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गरेकी थिइन् ।
उनले आइतबारदेखि कार्यभार सम्हाल्ने छिन् । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आइतबार नै सकिँदै छ ।