काठमाडौं । मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै विशेष सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन गरिकलाई आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताएका छन् ।
उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताएका छन् ।
सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताएका छन् ।
उनले यो संक्रमण अधिकांश बालबालिकाहरूमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे ।