Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुसले लगायो फेसबुक सीईओ जुकरबर्गमाथि प्रतिबन्ध

रुसले लगायो फेसबुक सीईओ जुकरबर्गमाथि प्रतिबन्ध

काठमाडौं । रुसले अनिश्चितकालसम्मका लागि अमेरिकी व्यक्तित्वहरूको सूचीमा सोसल मिडिया कम्पनी फेसबुकका सीईओ मार्क जुकरबर्गलाई प्रतिबन्ध लगाएको छ ।

रुसले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसदेखि मेटा सीईओ मार्क जुकरबर्ग र लिंक्डइनका सीईओ र्यान रोस्लान्स्की लगायत माथि प्रतिबन्ध लगाएको हो । रुसविरुद्ध त्रास फैलाएको भन्दै उसले कतिपय चर्चित अमेरिकी पत्रकारमाथि पनि प्रतिबन्ध लगाएको छ ।

रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार प्रतिबन्धमा पर्ने अमेरिकीहरूमा बैंक अफ अमेरिकाका अध्यक्ष तथा सीईओ ब्रायन थोमस मोइनिहान, एबिसी टेलिभिजन च्यानलका पत्रकार जर्ज स्टेफानोपोउलसलगायत रहेका छन् ।

रुसले यसअघि नै रुसविरुद्ध अफवाह फैलाउने काम गरेको र आफ्नो मुलुकको कानुन उल्लंघन गरेको भन्दै विभिन्न चर्चित पश्चिमा इन्टरनेट प्लाटर्फमहरूमाथि बन्देज लगाइसकेको छ ।

रुसमा फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइएको छ भने गुगल न्यूजमा पहुँच सीमित गरिएको छ । युट्युबमाथि पनि रुसले चेतावनी जारी गरिसकेको छ ।

युक्रेनमाथि रुसी हमाको विरोध गर्दै एप्पल, गुगल तथा माइक्रोसफ्टलगायतका विभिन्न प्रविधि कम्पनीहरूले रुसमा आफ्नो सेवा बन्द तथा स्थगन गरिसकेका छन् ।यसअघि नै अमेरिका तथा विभिन्न पश्चिमा मुलुकहरूले राष्ट्रपति भ्लादमिर पुटिन, उनका छोरीहरू, रुसका विभिन्न नेता तथा अर्बपतिहरूमाथि प्रतिबन्ध लगाएका थिए ।