काठमाडौँ,नागरिक एपबाट अब सेवा शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन सकिने भएको छ । यसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले बिहीबार एक सूचना जारी गर्दै विद्युतीय भुक्तानी सेवा प्रदायकलाई नागरिक एपबाट आवद्ध हुन अनुरोध गरेको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई नागरिक एपबाट आवद्ध हुन सात दिन भित्रमा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘नागरिक एपमार्फत सेवा शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन विद्युतीय भुक्तानी सेवा आवश्यक भएकोले नेपाल सरकारद्वारा जारी नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८० को दफा ४ को उपदफा ४ मा व्यवस्था भएबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इच्छुक विद्युतीय भुक्तानी सेवाप्रदायक एवं भुक्तानी सेवा सञ्चालक संस्थाहरुलाई एपमा आवद्ध हुन यो सूचना जारी भएको मितिले ७ दिनभित्र केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।’
सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरू मोबाइल एपबाट दिने गरी नागरिक एप शुरू गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा नागरिक एपबाट ४२ प्रकारका सेवा दिने लक्ष्य राखेको छ ।
हाल एप मार्फत् प्यान, नागरिकता, राहदानी, शैक्षिक विवरण, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषको जानकारी लिन सकिन्छ । साथै एप मार्फत् नै गुनासो समेत दर्ता गराउन सकिने व्यवस्था छ ।
एपबाटै नयाँ प्यान नम्बर लिन, सवारी कर तिर्न, प्रहरी चारित्रिक प्रमाणपत्र लिने लगायतका काम गर्न सकिन्छ । सरकारी सेवा लिनको लागि नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट एपले अन्त्य गरिदिएको दावी सरकारको छ ।
हेर्नुहोस् सूचना
