Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमिकस क्युरीका अधिवक्ता कार्कीको राय : 'सविधानको दुर्घटना भइसकेको छ , संविधानको रक्षा गर्न ५ जना श्रीमान्हरूको निर्णय महत्त्वपूर्ण छ !'!

एमिकस क्युरीका अधिवक्ता कार्कीको राय : 'सविधानको दुर्घटना भइसकेको छ , संविधानको रक्षा गर्न ५ जना श्रीमान्हरूको निर्णय महत्त्वपूर्ण छ !'!

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान दुर्घटनामा परिसकेको बताएका छन् ।

‘प्रतिनिधिसभा विघटन भइसकेको छ । संविधान जसले लागू गर्नुपर्ने थियो, उसैबाट हाम्रो संविधान दुर्घटनामा पर्‍यो । बाहिर मानिसहरू आफूखुसी बोलीरहेका छन् । यस्तो अवस्थामा इजलासमा बस्ने ५ जना श्रीमान्हरूले गर्ने निर्णय नै महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘संविधानको रक्षा गर्नुपर्नेहरू आन्दोलनमा लागेका छन् । सविधानको दुर्घटना भएको स्वीकारेका छन् । हामीले संविधान जोगाउन नसकेको हो । अहिले अदालतको सहारा खोजिएको छ ।’

अहिले सबैले अदालतको सहारा खोजिरहेको कार्कीले बताए। ‘जबसम्म ४ वटा पार्टीले १६ बुँदे सहमति गरेनन्, तबसम्म सहमति नै भएन। संविधानको धारा ७४ मा बहुदलवादको कुरा उल्लेख छ। यसमा धेरै अलमलिनु पर्ने कारण छैन,’ कार्कीले इजलासमा भने।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीका रूपमा नेपाल बार एसोसिएसनबाट ३ र सर्वोच्च अदालत बारबाट २ जना गरी ५ जनालाई अदालतको सहयोगीका रूपमा सहभागी गराइएको छ ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन्। प्रधानमन्त्रीको कदमलाई लिएर सर्वत्र आलोचना भइरहेको छ। प्रधानमन्त्रीको सिफारिस आँखा चिम्लेर सदर गरेको भन्दै राष्ट्रपति पनि आलोचित छिन्।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्। ती रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ। पक्ष–विपक्ष दुवैको बहस सकिएर आजदेखि एमिकस क्युरीका सदस्यहरुले राय दिइरहेका छन्।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्कीसहित विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् ।