जेनेभा : संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा अलग हुने घोषणा गरेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्न सक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । “विभाजित संसारले कोरोना भाइरस संकटलाई जित्न सक्दैन,” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेबे्ररियससले भनेका छन् ।
विश्वलाई बन्धक बनाउने भाइरसलाई दुश्मनको संज्ञा दिँदै उनले राष्ट्रसंघीय स्वास्थ्य निकायको जिनेभास्थित मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा भने, “हामी यस महामारीलाई विभाजित संसारको रूपमा हराउन सक्दैनौं । दुश्मनलाई फाइदा दिन चाहँदैनौं भने सहकार्य नै यसको समाधान हुनेछ ।” यसैबीच समस्यालाई थप सहजरूपमा समाधान खोज्न भन्दै डब्लुएचओले महामारी प्रतिरोध समितिको गठन पनि गरेको छ ।
अमेरिकाले कोरोना भाइरस संकटसम्बन्धी विषयमा विश्व स्वास्थ्य संगठनको भूमिकालाई लिएर आलोचना गरेपछि न्यूजील्याण्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेनजनेनसोन सरलिफको नेतृत्वमा महामारी प्रतिरोधका लागि स्वतन्त्र समितिको गठन भएको हो । जिम्मेवारीबारे बोल्दै डब्ल्यूएचओ प्रमुख गेब्रियससले भने, “के भएको छ भन्ने सत्यतालाई बुझ्न र हाम्रो मानवता अझ राम्रो बनाउन नयाँ उपायहरूको खोजीमा समितिले काम गर्दै विश्वलाई प्रकाश पार्नेछ ।”
रासस