मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पछिल्ला केही साता निकै सकसपूर्ण भएको छ। कोरोना महामारीको प्रकोप र अश्वेतहरूको आन्दोलन उनका लागि खराब समाचार हो। तर आफ्ना लागि प्रतिकुल अवस्थाकै बीच उनी आगामी राष्ट्रपतीय चुनावका लागि प्रचारमा निस्किएका छन्।
अहिलेको चुनाव प्रचार यसअघिको जस्तो सहज छैन। ट्रम्पको चुनावी अभियान प्रभावित भइरहेको छ। पछिल्लो अवस्था नियाल्दा यस्तो लाग्छ: ट्रम्प संकटहरूमा घेरिँदै गएका छन्। दोस्रोपटक राष्ट्रपति चुनिने उनको आकांक्षामा यो संकट हावी भइरहेको छ। चार वर्षअघि पनि उनी राष्ट्रपतीय निर्वाचनको मैदानमा दौडिँदै थिए।
त्यतिखेर सबै अनुमान र भविष्यवाणीहरूलाई किनारा लगाउँदै उनले पार्टीभित्रबाट राष्ट्रपति पदका लागि उम्मेदवारको दौड जिते। राष्ट्रपति बनिछाडे। ट्रम्पले यतिखेर सन् २०१५ को जुलाई महिना सम्झिरहेको हुनुपर्छ। किनकी त्यतिखेर पनि उनलाई त्यति सहज थिएन। अरु मानिसहरूलाई जोडेर लागेका आरोप, विवाद, असंयमित ट्वीटजस्ता कारणले उनी राष्ट्रपति पदबाट टाढै रहन्छन् भन्ने आंकलन गरिएको थियो। तर यस्ता अवरोधहरूलाई चिर्दै उनी राष्ट्रपतिमा चुनिए।
त्यतिखेर सबै विशेषज्ञहरू गलत सावित भएका थिए र ट्रम्प चाहिँ सही। चुनावमा उनी स्वतन्त्र उम्मेदवार झैं प्रस्तुत भएका थिए। यसरी राष्ट्रपति चुनिएको चार वर्षपछि ट्रम्पको स्वाभाविक प्रवृत्तिले उनलाई धोका दिन सक्छ। ट्रम्प सन् २०१६ मा आफूले हासिल गरेको जीतलाई दोहोर्याउन चाहन्छन्।
सत्ता प्रतिष्ठान अर्थात वासिंटनको दलदलमा विपक्षी उम्मेदवारसँग उनी भिडिरहेका छन्। अघिल्लो चुनावमा उनलाई अस्थिर र परम्परागत दुवै प्रकारका मतदाताहरूले शंकाको सुविधासहित मत दिएका थिए। ती मतदाताहरू यस्ता थिए, जसले अन्तिम समयसम्म पनि कसलाई भोट दिने भन्ने निक्र्यौल गर्न सकेका थिएनन्।
तर बुथभित्र पसेपछि ट्रम्पलाई नै मत दिएका थिए। तर यसपटक ट्रम्प कुनै नचिनिएका र परीक्षण नगरिएका उम्मेदवार होइनन्। मानिसहरूले उनको चार वर्षे कार्यकाल भोगिसकेका छन्।
यद्यपि, अहिलेपनि उनीमाथि भरोसा गर्ने मतदाता ३० देखि ४० प्रतिशत छन्। तर सर्वेक्षणहरूले चाहिँ शहरका वृद्धवृद्धा, शहरी क्षेत्रका शिक्षित मतदाता र धार्मिक मतदाताहरूको समर्थन ट्रम्पले गुमाउँदै गएको देखाएको छ। यो क्रम अझै बढे उनका लागि ह्वाइटहाउससम्मको दोस्रो यात्रा असम्भव हुनेछ।