एजेन्सी, जेठ २ । बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् ।
ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको शोधकर्ताहरुले समाचार एजेन्सी रोयटर्सलाई बताएका हुन् ।
शोधकर्ताहरुले ६ वटा बाँदरको एक समूहमा यो खोपको प्रयोग गरेको र अहिले त्यो खोपले काम गरिरहेको जनाइएको हो । अब यो खोप मानिसमा परीक्षण गरिने छ । वैज्ञानिकले खोपको जाँच पनि गर्नेछन् ।
अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका शोधकर्ताहरुसँग मिलेर कोरोना भाइरसको खोपको बारेमा काम भइरहेको बेलायती औषधि निर्माता एझेडएनएलले गत महिना बताएको थियो ।६ वटा बाँदरलाई भारी डोज दिनुअघि यो खोप लगाइएको थियो । यो खोपबाट केही बाँदरको शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लागेको जनाइएको छ ।कोरोना भाइरसको सम्पर्कमा आएपछि यो खोपले ती बाँदरको फोक्सो क्षति हुनबाट बचाएको र शरीरमा भाइरसको कपी बन्न र बढ्न रोकिएको शोधकर्ताले बताएका छन् । नाकमा भने अझै भाइरस सक्रिय रहेको बताइएको छ ।
लण्डन स्कुल अफ् हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर डाक्टर स्टिफिन इभान्सले बाँदरमा गरिएको अनुसन्धानको नतिजा राम्रो खबर भएको भन्दै अक्सफोर्ड भ्याक्सिनको लागि निकै ठूलो उपलब्धि भएको बताए ।गत मे १३ सम्म शोधको लागि स्वेच्छाले आएका झण्डै एक हजार मानिसमा परीक्षणको रुपमा यो खोप लगाइएको शोधकर्ताहरुले बताएका छन् । अबको एक महिनासम्ममा केही स्पष्ट निष्कर्ष आउने आशा उनीहरुको छ ।