Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टेलिकमले ल्यायो इ–शिक्षा प्याकेज : जम्मा ५ सय रुपैयाँमै १५ जिबी डाटा किन्न सकिने !

टेलिकमले ल्यायो इ–शिक्षा प्याकेज : जम्मा ५ सय रुपैयाँमै १५ जिबी डाटा किन्न सकिने !

विद्यालयको सिफारिसमा इ–शिक्षा प्याकेज किन्न सकिने

कोभिड–१९ का कारण राज्यले गरेको लकडाउनमा पनि अनलाइनमार्फत अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर नेपाल टेलिकमले इ–शिक्षा प्याकेज ल्याएको छ । कम्पनीले लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले इ–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको हो ।

नेपाल टेलिकमले विभिन्न विश्वविद्यालय तथा विद्यालयहरूबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरूसँग परामर्शका आधारमा उक्त प्याकेज ल्याएको जनाएको छ । प्याकेज विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउने कम्पनीको दाबी छ ।

मूल्य कति पर्छ ?

विशेष इ–शिक्षा प्याकेजअन्तर्गत २ सय ६० रुपैयाँमा ६ जिबी र ५ सय रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । २ सय ६० रुपैयाँमा प्राप्त हुने कुल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि १० बिहान बजेसम्म प्रत्येक दिन जम्मा ५ घन्टा प्रयोगमा ल्याउन सकिनेछ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने जनाइएको छ ।

यसैगरी ५ सय रुपैयाँमा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये ६ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घन्टा मात्र प्रयोग गर्न सकिनेछ । बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । इ–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जिएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी)मार्फत प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घन्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने कम्पनीले जनाएको छ । इ–शिक्षा प्याकेज देशको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसमेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएको कम्पनीको दाबी छ ।

कसरी प्राप्त गर्ने ?

इ–शिक्षा प्याकेजका सेवाहरू विश्वविद्यालय र विद्यालयहरूको सिफारिसका आधारमा विद्यार्थी र शिक्षकहरूलाई कम्पनीले उपलब्ध गराउनेछ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरूले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरूको सूचीसहित सिफारिस पठाउनुपर्ने जनाइएको छ ।

सिफारिस प्राप्त भएका नम्बरहरूलाई प्याकेज खरिद गर्नका लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्ने जनाइएको छ । कम्पनीले उपलब्ध गराएको डाटा प्याकेजबाट अनलाइन शिक्षा हासिल गर्न प्रयोग हुने विभिन्न एप्स तथा अन्य सफ्टवेयर प्रयोग गरी अनलाइन कक्षामा भाग लिन तथा शैक्षिक सामग्री डाउनलोड वा आदान–प्रदान गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।