Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना संक्रमितको उपचारका लागि मुलुकभित्रै बन्यो पहिलो पटक भेन्टिलेटर, परीक्षण हुँदै

कोरोना संक्रमितको उपचारका लागि मुलुकभित्रै बन्यो पहिलो पटक भेन्टिलेटर, परीक्षण हुँदै

मुलुकभित्रै भेन्टिलेटर उत्पादन भएको छ। रोबोट बनाउँदै आएको पाइला टेक्नोलोजी प्रालिले कोरोनाभाइरस (कोभिड-१९) संक्रमित सिकिस्त बिरामीको उपचारका लागि चाहिने भेन्टिलेटर बनाएको हो।

चार चिकित्सकको सहयोग लिएर १२ जना इञ्जिनियरको टोलीले भेन्टिलेटर बनाएको छ। भेन्टिलेटर बनाउन डेढ महीना लागेको पाइला टेक्नोलोजीले जनाएको छ।

कम्पनीका सह–संस्थापक विनय राउतका अनुसार, गएको साता तयार पारिएको उक्त भेन्टिलेटरको अहिले बायोमेडिकल इञ्जिनियर, एनेस्थेसियोलोजिष्ट र चिकित्सकहरुसँगको परामर्शमा परिक्षण गरिंदैछ। "भेन्टिलेटरका सबै पारामिटरहरुको परीक्षण भइरहेको छ”, उनले भने।

उनी भेन्टिलेटर मार्फत बिरामीलाई सुरक्षित सेवा दिन उपकरणको प्राविधिक पक्षमा कुनै सम्झौता नगरेको बताउँछन्। उनका अनुसार, पहिलो चरणमा एक थान भेन्टिलेटर बनाउँदा झण्डै रु.९ लाख खर्च भएको छ।

कोभिड-१९ का कारण स्वास्थ्य उपचारमा परेको संकट टार्न सरकारलाई सहयोग गर्न भेन्टिलेटर बनाएको बताउँछन् ।

क्लिनिकल परीक्षण गरिंदै

भेन्टिलेटर बनाउने टोलीमा संलग्न पाइलाका प्रमुख टेक्निकल इञ्जिनियर रविन गिरी बायोमेडिकल इञ्जिनियरहरुलाई देखाउँदा राम्रो प्रतिक्रिया पाएको बताउँछन्। “बुधबार भेन्टिलेटरलाई काभ्रेको धुलिखेल अस्पतालमा क्लिनिकल ट्रायल गर्दैछौं, त्यसपछि त्रिवि शिक्षण अस्पतालमा पनि परीक्षण गर्नेछौं”, गिरी भन्छन्।

उनी यो परीक्षण सफल भएपछि सरकारलाई सहुलियतमा प्रतिथान रु.२ लाखसम्ममा बिक्री गर्न सक्ने बताउँछन्। "कम्पनीसँग हप्तामा २५ देखि ३० थान भेन्टिलेटर उत्पादन गर्न सक्ने क्षमता छ, अर्डर आए उत्पादन गर्न तयार छौं", उनले भने।

पाइला टेक्नोलोजीका इञ्जिनियरहरुको टोलीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासँगको सल्लाहमा भेन्टिलेटर बनाउने काम अघि बढाएको थियो। कम्पनीले यसअघि कोरोना संक्रमित बिरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन रोबोट बनाइसकेको छ।