मन्त्रीबाट कुटाई खाने सचिव झा अस्पताल भर्ना, मुख्यमन्त्रीले आकस्मिक बैठक गरेपछि , के होला त अब ?

  • -लालिगुराश सम्बाद दाता
  • सोम, पुस ३०, २०७५

    जनकपुरधाम । मन्त्रीको हातबाट कुटाई खाने सचिव अस्पताल भर्ना भएका छन् । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका हुन् ।

    कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा आईतबार रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाको भनाई छ ।

    शरीर कमजोर जस्तो भएकाले रातिदेखि स्लाइन जारी रहेको र हातको एक्सरे गरिएको सचिव झाले बताए । मन्त्रीबाट शरीरको विभिन्न भागमा लात र हातले प्रहार भएकाले शरीरको विभिन्न भागमा पछि समस्या देखिएको सचिव झाको भनाई छ ।

    मुख्यमन्त्रीको आकस्मिक बैठकः
    प्रदेश मन्त्रीले सचिवमाथि कुटपिट गरेपछि आक्रोशित कर्मचारीहरू आन्दोलित हुनसक्ने खतरालाई रोक्न २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीसँग आकस्मिक बैठक गरेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री राउतले सबै मन्त्रालयका सचिव र उपसचिवसँग बैठक गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले जानकारी दिए ।

    बैठकमा आइतवार कुटिएका वन मन्त्रालयका सचिव विद्यानाथ झा भने उपस्थित भएनन् । योजना मन्त्री विजय यादवले सचिव झामाथि कुटपिट गरेपछि प्रदेशका कर्मचारी आक्रोशित छन् । मंगलवार प्रदेशमा मकर संक्रान्तिको बिदा भएकाले सचिव कुटिएको विषयलाई समाधान गर्नतिर मुख्यमन्त्री राउत लागेका छन् ।

    उपचारको लागि अस्पताल भर्ना भएपछि सचिव झा सोमवार कार्यालयमा हाजिर भएका छैनन् । सचिव कार्यालयमा नआएपनि मन्त्रालय मातहतका सबै कर्मचारी आगामी रणनीति तय गर्न बैठक बसेका छन् । आइतवार नै विज्ञप्ति निकालेर विभिन्न शाखाका प्रमुख र कर्मचारीले दोषीमाथि कारवाही हुनुपर्ने र न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य