सत्तारुढ नेकपाको युवा संगठनले माइतीघरमा फहरायो राष्ट्रिय झण्डा, पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • बुध, अशोज ३, २०७५

    असोज ३, २०७५
    काठमाडौं – संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ ।
    तत्कालीन नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौंको माइतीघर मण्डलमा १०० मिटर लामो झण्डोत्तलन गरेका हुन् ।
    योग्य तथा दक्ष युवा विदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको भन्दै संगठनका नेताले रोजगारमुखी नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले अघि सारेकाले त्यसलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।
    त्यस्तै संविधानमा कहीँ कतै कमजोरी भएमा आपसी छलफल तथा संवाद्को माध्यमबाट हल गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

    युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनताको अधिकार लिपिबद्ध भएको दिनमा मुलुकलाई समृद्धिको बाटामा अघि लानुपर्ने बताए । अध्यक्ष पौडेलले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न र गराउन सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, जनतासमेत लाग्नुपर्नेमा जोड दिए ।
    वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले वर्तमान संविधानले महिला, दलित, अल्पसङ्ख्यक, पिछडिएको वर्गलगायत सम्पूर्ण नेपालीको भावनालाई समेटेको उल्लेख गर्दै संविधानमाथि गलत प्रचार गरी अनावश्यक भ्रम फैलाउन नहुने बताए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य