माघे संक्रान्तिका लागि नवलपुरबाटै एक सय २० टन तरुल काठमाडौं र पोखरामा

  • -लालिगुराश सम्बाद दाता
  • सोम, पुस ३०, २०७५

    ३० पुस, नवलपरासी । यसबर्षको माघे संक्रान्तिका लागि नवलपुर जिल्लाबाटै काठमाडौं र पोखरामा एक सय २० भन्दा बढी तरुल लगिएको छ ।
    कृषि उपज बजार व्यवस्थापन समिति कावासोतीका अध्यक्ष लेखनाथ बस्यालका अनुसार नवलपुरबाट एक सय टन २० भन्दा बढी तरुल खपत भएको हो ।
    थोक भाउमा किसानसँग प्रतिकिलो ८० देखि ९० रुपैयाँका दरले खरिद गरी एक सय रुपैयाँका दरले ब्यापारीले बिक्री गरेका छन् । कृषि उपज बजार व्यवस्थापन समितिले कावासोतीमा पहाडी तथा ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषि उपजलाई कावासोतीमा जम्मा गरेर बाहिरी सहरहरुमा पठाउने गर्दछ ।
    गत बर्षसम्म नवलपुरमा उत्पादित तरुल काठमाडौं लगेर विक्री गर्नुपर्ने अवस्था रहे पनि यस बर्ष भने व्यापारीहरु कावासोतीमै आएर खरिद गरेर लगेका थिए ।
    स्थानीय थोक व्यापारी थमन सिंह रजालीले यसबर्ष तरुलमा नसोचेको सफलता मिलेको बताए । उनले भने ‘गत बर्षसम्म काठमाडौं पोखरा लगेर छाड्नुपर्ने बाध्यता थियो भने अहिले काठमाडौं र पोखराका व्यापारीहरु तरुल खरिद गर्न कावासोती नै आएका थिए
    रजालीले मात्र १० टन भन्दा बढी तरुल बिक्री गरेको बताए । माघे संक्रान्तिमा खाइने विभिन्न परिकारमध्ये तरुल मुख्य हो ।
    यस बर्ष नवलपुरबाट एक करोड २० लाख रुपैयाँ भन्दा बढीको तरुल काठमाडौं र पोखराका व्यापारीले खरिद गरेर लगेको उनले बताए ।
    रजालीका अनुसार काठमाडौं र पोखरामा नवलपुरबाट लैजाने पन्जे तरुल (हात्तीपाइले तरुल) सबैभन्दा बढी मूल्य पर्ने तरुल हो । यो काठमाडौं र पोखरामा सजिलै बजार पाउने गर्दछ । काठमाडौंमा नवलपुरको तरुल भनेपछि सजिलै विक्ने गरेको रजालीले बताए नवलपुरको देउराली, रुचाङ, जौवारी, धौवादी, हुप्सेकोट, डेढगाउँ, बुलिङटारलगायतका क्षेत्रमा सबैभन्दा बढी तरुल उत्पादन हुन्छ ।
    यहाँ पञ्जे (हात्तीपाइले) तरुलका अलावा वन तरुल, मोडे तरुल, सखरखण्ड उत्पादन हन्छ । तीमध्ये पञ्जे तरुल काठमाडौं र पोखरामा निक्कै लोकप्रिय मानिन्छ । पोखरामा पन्जे र काठमाडौंमा हात्तीपाइले नामले चिनिने यो तरुल अदुवा र पिडालुसँगै रोपेर मात्र फल्ने भएको भएर स्थानीय क्षेत्रमा भने पिडालु तरुलको नामले पनि चिनिन्छ ।
    त्यसैगरी नवलपुरको स्थानीय बजार कावासोती, अरुणखोला, दुम्कीबास, प्रगतिनगर, गैडाकोट, रजहर, चोरमारा, डण्डा लगायतका बजारहरुमा पनि ४० देखि ५० टनको हाराहारीमा तरुल खपत भएको रजालीले बताए ।
    स्थानीय बजारमा पन्जे तरुल महंगो भएको कारण थोरैमात्र बिक्री हुन्छ । नवलपुर क्षेत्रमा मोडे तरुल, वन तरुल, सखरखण्ड बढी बिक्री हुन्छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य